होली मर्यादित र विकृतिरहित मनाउन आग्रह
- 1 year ago
विराटनगर । विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुभकामना दिएका थिए । कार्यक्रममा मेयर कोइरालाले होली पर्व मर्यादित र विकृतिरहित रुपमा मनाउनुपर्नेमा जोड दिए ।
होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने मेयर कोइरालाको भनाइ थियो । ‘पछिल्लो समय विभिन्न खालका सामाजिक विकृति र विसंगतिले स्थान पाएको भन्ने सार्वजनिक टिप्पणी हुने गरेको सन्दर्भमा यस पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन विराटनगरवासीसहित सबैलाई आग्रहसमेत गर्दछु,’ मेयर कोइरालाले भने, ‘यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेछ भन्ने विश्वास लिएको छु ।’
मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको उनको भनाइ थियो । कार्यक्रममा एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गरिएको थियो ।
त्यस्तै होलीका गीतमा सामूहिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । महानगरले होलीका अवसरमा हरेक वर्ष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ । यस्तै दशैं, तिहार, तीजसहित महत्वपूर्ण पर्वहरुमा समेत महानगरले शुभकामना आदानप्रदानसहितका विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ ।