अभिनय कलाबारे तालिम सम्पन्न

  • 2 years ago
अभिनयकला सम्बन्धी तालिम

शुभसन्देश
विराटनगर, २३ असार । कला संस्कृति तथा पर्यटन प्रतिष्ठान विराटनगरको आयोजनामा भएको सात दिने अभिनयकला सम्बन्धी तालिम शनिबार समाप्त भएको छ ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित सो तालिममा कोशी प्रदेशका १४ जिल्लाका २० जना कलाकर्मीले प्रशिक्षण लिएका थिए ।
प्रशिक्षर्थाीहरु १३ वर्षदेखि ६५ वर्षसम्मका रहेको प्रतिष्ठानका सचिव राजेश थापाले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले कलाको क्षेत्र विशाल रहेको उल्लेख गर्दै केही दिनको तालिमका लागि हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले प्रदेश सरकारले कला क्षेत्रको विकासको लागि आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
वरिष्ठ समालोचक दधिराज सुवेदी, प्राज्ञ गंगा सुवेदी, विवस पोखरेल, पत्रकार यज्ञप्रसाद शर्माले तालिमको महत्व र कला क्षेत्रको विकास देश विकासका लागि अनिवार्य पक्ष रहेको चर्चा गर्नु भयो ।
प्रतिष्ठानका अध्यक्ष राष्ट्रिय सभाका पूर्व साँसद खेम नेपालीले प्रदेश सरकारको थोरै रकमबाट प्रदेशभरिका २० जना कलालाई आवासीय तालि मलिइएको जानकारी दिँदै यस तालिमले कलाको विकास र सिर्जनाका लागि जोड दिएको बताउनु भयो । नयाँदेखि ६५ वर्ष उमेर पुगेका व्यक्तिहरु तालिममा सहभागी हुन भएकोमा सन्तोष व्यक्त गर्नु भयो ।
तालिमकै दौरानमा सहभागीहरुले प्रतिस्पर्धात्मक भावनाका साथ छाेटो सिनेमा निर्माण गरी प्रस्तुत गरेका थिए । तीमध्ये आमाको रुपमा सबिना श्रेष्ठको प्रमुख भूमिका रहेको सिनेमा पहिलो भएको भनी नगद पुरस्कार प्रदान गरिएको थियो ।