पत्रकारिता निष्पक्ष र सशक्त हुनुपर्नेमा जोड

  • 10 months ago
 पत्रकारिता निष्पक्ष र सशक्त हुनुपर्नेमा जोड

विराटनगर ।  खबर पूर्वाञ्चल मिडीय प्रालीद्वारा सञ्चालित खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सव सोमबार एक समारोहबीच सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिएका छन् ।

वार्षिकोत्सव कार्यक्रममा बाल्दै प्रमुख अतिथि कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको बताए । उनले पत्रकारहरूले देश र प्रदेशका महत्वपूर्ण विषयमा निरन्तर बहस र पैरवी गरिरहनुपर्ने आवश्यकता रहेको औल्याए ।

कार्यक्रममा प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टिकाराम पुरीले मिडिया क्षेत्रले दलीय प्रभावबाट माथि उठेर सहीलाई सही र गलतलाई गलत भन्नुपर्ने बताए । उनले प्रादेशिक संरचनाको भार सम्बन्धमा पनि प्रश्न उठाए । उनले भने ‘अहिलेको प्रादेशिक संरचनाको भार मुलुकले कहिलेसम्म धान्न सक्छ ? संघीय सरकारमा जति संरचना छ त्यति नै प्रदेशमा पनि बनाउनु के आवश्यक छ,’।

 

नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रीय सदस्य नवीन रिजालले मुलुकमा सबै क्षेत्रको अवस्था जर्जर रहेको टिप्पणी गरे । ‘निजी क्षेत्र, मिडिया, रोजगारी, औद्योगिक लगायतका क्षेत्रको अवस्था जर्जर हुनुको कारण पहिचान गरेर मिडिया क्षेत्रले निरन्तर वकालत गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने ।

रिजालले आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने, ‘सरकारले बर्सेनि आन्तरिक र बाह्य ऋण लिएर यसरी कति दिनसम्म देश चल्छ भनेर प्रश्न उठाउनु  आवश्यक छ । १८ खर्बको बजेट बनाउने तर आय ११ खर्बभन्दा बढी नहुने अवस्था गम्भीर छ ।’

 
समारोहमा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल, प्रेस यूनियन केन्द्रीय उपमहासचिव अभय राई, प्रेस यूनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नवोदित, प्रेस चौतारी कोशी प्रदेशका अध्यक्ष सुमन पुरी, समाजवादी प्रेस संगठन कोशी प्रदेशका अध्यक्ष बन्धु पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी र मोरङका उपाध्यक्ष सन्तोष सिग्देललगायतले शुभकामना व्यक्त गरेका थिए । वक्ताहरूले मिडियाले मुलुकको सबै क्षेत्रमा सुधारका लागि निरन्तर आवाज उठाइरहनुपर्ने अपरिहार्यता रहेको बताए । साथै, पत्रकारिताको क्षेत्रमा ठूलो योगदान पुर्‍याएकोमा खबर पूर्वाञ्चल अनलाइनलाई बधाई तथा शुभकामना दिए ।

खबर पूर्वाञ्चलका अध्यक्ष पुष्पराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तेजेन्द्र भण्डारीले स्वागत मन्तब्य र अनलाईनका सम्पादक डा.डिल्ली पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए ।