बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन

  • 1 year ago
 बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन

विराटनगर । कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य  बिलौनै बिलौनाको दोस्रो संस्करणको प्रकाशक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठान र छन्द वाटिका नेपालद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ । 
विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल,  प्राध्यापक कविराज न्यौपाने, प्रा.डा. मेदिनीप्रसाद शर्मा, प्रा.डा. हरिहर भण्डारी, कवि सोमराज अभय, साहित्यकार बलराम पोखरेललगायतले संयुक्त रूपमा गरेका थिए । 

कृतिको समीक्षा गर्दै नेपाली लेखक संघकी केन्द्रीय सदस्य तथा साहित्यकार निर्मला कोइरालाले हरि कट्टेलको बिलौनैबिलौना उनको १८ वर्षभन्दा कम उमेरमै प्रकाशित छन्दोबद्ध  खण्डकाव्य भएको र  २०४५ सालको कलिलो उमेरमै छन्दमा सिद्धहस्त देखिएको कुरा गरिन् । 

उनले भनिन्, ‘बिलौनैबिलौना काव्यमा कट्टेलले अर्को कृति चन्द्रकान्ति तयार रहेको र छिटै प्रकाशित हुँदैछ भनेर घोषणा गरेको देखिन्छ । यसो हुँदा यो बिलौनै बिलौनासँग यसपटक जोडिएर प्रकाशन भएको चन्द्रकान्ति  कट्टेलको अझ जेठो कृति देखिन्छ । यसबाट हरि  कट्टेल बालवयमै  कवितामा विलक्षण प्रतिभाका धनी  देखिन्छन् । उनका यहाँ रहेका गद्य पद्य कविताहरू परिपाका छन् ।’
 
कार्यक्रममा प्रमुख अतिथि कविराज न्यौपानेले पञ्चायतकालमा नै यस्ता  विद्रोही चेतका कविता लेख्ने कवि छन्दोकविताको पुराना र बलिया कवि भएको चर्चा गरे भने विवश पोखरेले कट्टेल छन्दमा मात्र नभएर गद्य कविताका पनि राम्रा कवि भएको चर्चा गरे । 

उनले भने, ‘कट्टेल छन्द कविता निकै संकटमा परेका बेला बिलौना काव्य लिएर देखा परेका पुराना र स्थापित  कवि हुन ।’ कार्यक्रममा साहित्यकार बलराम पोखरेल प्रा डा मेदिनी शर्मा प्रा डा  हरिहरलगायतले पनि कट्टेल र उनको विमोचित काव्यको  चर्चा  र प्रशंसा गरे । 

कार्यक्रममा  कवि रमेशचन्द्र  अधिकारी, कवि शारदा  कार्की, प्रज्ञा कट्टेललगायतले विमोचित काव्यका कविताहरू वाचन गरेका थिए ।  बिलौनै बिलौना २०४४ सालमा लेखी सर्वप्रथम  २०४५ मा छापिएको छन्दोबद्ध  लघुकाव्य कृति हो । उपस्थितहरूलाई पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले स्वागत गरेका थिए  भने  कार्यक्रम छन्दवाटिकका  सचिव चिरञ्जिवी काफ्लेको सञ्चालन गरेका थिए  ।