राष्ट्र बैंकको नीतिका कारण उद्योगलाई समस्या ः राउत

  • 3 years ago
राष्ट्र बैंकको नीतिका कारण उद्योगलाई समस्या ः राउत


नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल राष्ट्र बैंकको नीतिका कारण उत्पन्न भएको बैंक ब्याजदरलगायतका समस्याले मुलुकको उद्योग व्यवसाय क्षेत्र सवैभन्दा धेरै पीडित बन्नु परेको बताएका छन् । 

मंगलबार विराटनगरमा अन्तर्राष्ट्रिय वित्त नियोगको आयोजनामा प्रदेश तहका निजी क्षेत्रसँग आयोजित राउण्ड टेबल कार्यक्रममा बोल्दै अध्यक्ष राउतले चर्को लोडसेडिङ, भारतको नाकाबन्दीलगायतका राजनीतिक अस्थिरताले थलिएर केहि अघि बढेको निजी क्षेत्र कोभिड–१९ को महामारी, रुस र युक्रेन युद्धबाट झन प्रभावित बनेको बताएका हुन् । उनले यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकको नीतिका कारण बैंकको व्याजदर लगायतका थप समस्याले निजी क्षेत्र नै संकटमा पुगेको र मुलुकमा आर्थिक संकट उत्पन्न भएको बताए ।
 
संकटका कारण अहिले अहिले ६० प्रतिशत हाराहारीमा मात्रै उद्योगधन्दाहरु संचालनमा रहेको दाबी गरेका छन् । उद्योगधन्दा बन्द हुने क्रममा रहेका कारण सरकारको राजश्व असुली समेत प्रभावित भएको अध्यक्ष राउतले दाबी गरेका छन् ।

‘नेपालमा औधोगिकीकरणको आधुनिक इतिहाँस विराटनगरबाट सुुरु भएको मानिन्छ, त्यसको प्रस्थानविन्दु विराटनगर जुट मिलको स्थापना नै हो’ अध्यक्ष राउतले भने, ‘त्यसपछि खुलेका उद्योगधन्दाले विराटनगर र आसपासका क्षेत्रको आयस्तर बृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याएको छ, तर पछिल्लो पटक उद्योगी व्यवसायीको क्षेत्रले राष्ट्र बैंकको नीतिका कारण ठुलो समस्या खेप्नु परेको छ ।’

उनले कोशी प्रदेशमा जुट, धान, मकै, फलफुल, तरकारी लगायतका कृषि उत्पादनको प्रशोधन मार्फत उद्योगलाई कृषिसँग आवद्धता भइरहेको बताए । उद्योगले औधोगिक क्षेत्रकै कारण मुलुकको कृषि उत्पादन बृद्धि गर्न समेत योगदान गरिरहेको बताए । जसका कारण मोरङ–सुनसरी औधोगिक करिडोर क्षेत्रले कोशी प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादनमा उल्लेख्य योगदान गरिरहेको बताए । 

राउतका अनुसार यो औद्योगिक करिडोरमा हाल करीव ५५० वटा ठूला तथा मझौता उद्योगहरु संचालनमा रहेका छन् । यस क्षेत्रमा विशेष गरी जूट, सावुन, चाउचाउ, प्लाष्टिकका सामान, कपडा, गार्मेन्ट, जुत्ता चप्पल, सिमेन्ट, छड, कालो पाइप, इलेक्ट्रीक क्वाइल, टिना, उच्च कोटीदेखि न्यून कोटीका मदिरा, राइसमिल, तेल मिल, फिड उद्योग लगायत धेरै वस्तु उत्पादन भइरहेको छ । 

केही उद्योगहरुले आफ्ना उत्पादनलाई विदेशमा समेत निर्यात गर्न थालेको अवस्थामा बैंकहरुका कारण ठुलो समस्या झेल्नु परेको गुनासो गरेका हुन् । जसका कारण सिमेन्ट, छड जस्ता उद्योगहरु प्रतिस्पर्धा गर्न नसकेर धमाधम बन्द हुन थालेको अध्यक्ष राउतले बताए । उनले कोशी प्रदेशमा लगानीको प्रसस्त संभावना बोकेको क्षेत्र भएपनि अहिलेको परिस्थितिले गर्दा लगानी थपिनै नसक्ने वातावरण बनेको बताए ।