महिला उद्यमी कार्यक्रममा सरकारको आलोचना

  • 2 years ago
महिला उद्यमी कार्यक्रममा सरकारको आलोचना

विराटनगर, २४ साउन २०८० । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध चुनौती र अवसरसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा सहभागीहरुले सरकारको कामकारबाहीका सम्बन्धमा तिखो आलोचना गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिका सभापति सरु केसीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा कोशी प्रदेशको पाँचवटा स्थानीय तह विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिका करीब २५ महिला उद्यमीसहित ३५ जनाको सहभागिता रहेको थियो । 

सो कार्यक्रममा सहभागी महिला उद्यमीहरुले उद्यमशीलताको लागि सूचनाको पहुँचमा कमी, र व्यवसाय सञ्चालनका लागि झन्झटिलो कानूनी प्रक्रिया रहेको गुनासो गथरिएको थियो । स्थानीय सरकारबाट सञ्चालन गरिएका उद्यम विकाससम्बन्धी कार्यक्रमहरु पहुुँच आधारित हुने र वास्तविक उद्यमीहरु उक्त अवसरबाट वञ्चित भएको, बैंक तथा वित्तीय संस्थाहरुबाट भएको कर्जा प्रभाव न्यायोचित नभएको र सबै उद्योग प्रतिष्ठानलाई एकै नजरले हेर्ने गरिएकाले पनि लघु तथा घरेलु उद्यमीहरु मर्कामा परेको उनीहरुले आरोप लगाएका थिए । 

कार्यक्रममा सहभागीहरुले व्यावसायिक प्रवर्द्धनका लागि स्थापना भएका संघसंस्थामा वास्तविक महिला उद्यमीहरूको प्रतिनिधित्व नभएको कारण महिला उद्यमीहरूको आवाज अहिलेसम्म बुलन्द हुन नसकेको कुरा बताएका थिए । सो कार्यक्रममा कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिका डेप्यूटी टिम लिडर अनिरुद्र न्यौपानेले महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौतीका बारे प्रष्ट पारे । 

कार्यक्रमका सभाध्यक्ष सरु केसीले सोच, सूचना, सम्पर्क, समन्वय र सहकार्यबाट मात्र उद्यमशीलताको विकास हुने कुरा बताउदैं महिला उद्यमीहरुलाई व्यवसाय प्रबद्र्धनका लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदैव तयार रहेको बताए । 

कार्यक्रममा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र स्थानीय तहका उद्यम विकास शाखाका प्रतिनिधिहरुले प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका उद्यम विकाससम्बन्धी कार्यक्रम र सेवा प्रभावसम्बन्धी जानकारी गराएका थिए ।