लाभ पहिचानसम्बन्धी कार्यशाला सम्पन्न
- 1 year ago
विराटनगर । विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ कोशीको आयोजनामा विराटनगर महानगरपालिकाको प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूको पहिचानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
जिआइजेडको प्राविधिक सहयोगमा सञ्चालित गोष्ठीमा महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो । सो गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विराटनगरलाई यहाँको भौगोलिक अवस्थिति र प्रमुख व्यापारिक राजमार्ग रानी– किमाथाङका, एसियन –हाइवे जस्ता कनेक्टिभिटीले भारत, चीनलगायत अन्य मुलुकको सहज पहुँचका कारण सीमापार व्यापारको प्रवेशद्वारको रूपमा स्थापित गरेको बताउँदै यहाँ स्थापित उद्योग प्रतिष्ठानहरूले देशका विभिन्न भागबाट आएका अवसरको खोजीमा रहेका कैयौँ युवा युवतीहरूलाई रोजगारीको प्रदान गरेको बताए ।
अझ प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूको पहिचान गर्ने हो भने नेपालको आर्थिक विकासमा टेवा पुग्ने उनले बताए । कार्यशाला गोष्ठीलाई दीप्ति खकुरेलले सहजीकरण गरेका थिए । गोष्ठीमा महानगरपालिकाका उत्साहजनक आर्थिक क्षेत्रहरू व्यापार, उद्योग, कृषि तथा पशुपंक्षी, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विश्लेषण गरि समूहगत रुपमा प्रस्तुति गरिएको थियो ।
कार्यशाला गोष्ठीमा बिराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले उद्योग व्यवसाय प्रवर्धनको लागि महानगरपालिका सदैव उद्योगी, व्यवसायीहरूको साथमा रहेको बताए । उनले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको , कुनै पनि व्यापार व्यवसायलाई बढाउन कनेक्टिभिटीले महत्वपूर्ण भूमिका खेल्ने भएकाले विराटनगरको रणनीतिक अवस्थितिले गर्दा पनि आर्थिक विकासको प्रशस्त सम्भावना जनाए ।
प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूको पहिचानले महानगरपालिकाको आर्थिक विकासमा अझ सहयोग पुग्ने विश्वास उनको भनाइ थियो । जीआईजेडका उपप्रमुख प्राविधिक सल्लाहकार तथा कम्पोनेन्ट प्रबन्ध रोशन श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
गोष्ठीमा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले पहिचान गरिएका क्षेत्रहरूमा महानगरको तर्फबाट धारणा राखेका थिए । कार्यशाला गोष्ठीमा महानगरपालिकाका वडा अध्यक्षहरू, विभिन्न उद्योग संगठनका प्रतिनिधिहरू, निजी, सहकारी, गैरसरकारी संस्था, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरू गरी करिब ५० जनाको सहभागिता रहेको थियो ।