विद्युत आपूर्तिप्रति प्राधिकरणको ध्यानाकर्षण

  • 1 year ago
अनियमित विद्युत आपूर्तिप्रति प्राधिकरणका प्रमुखको ध्यानाकर्षण

विराटनगर । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीसहितको टोलीले नेपाल विद्युत प्राधिकरणको कोशी स्थित प्रादेशिक कार्यालय, विराटनगरका नवनियुक्त कार्यालय प्रमुख  मुनेन्द्र ठाकुरलाई भेट गरी उद्योगहरुका विद्यमान विद्युत आपूर्तिका समस्या र त्यसका प्रभावहरुबारे अवगत गराउँदै समाधानार्थ ध्यानाकर्षण गराएका छन्।

भेटका क्रममा अध्यक्ष राठीले मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगहरुमा हाल अघोषित रुपले लोड सेडिङ, ट्रिपिंङ तथा अपर्याप्त विद्यूत आपूर्ति हुने गरेकोले यहाँका उद्योगहरुले ठूलो आर्थिक क्षति व्यहोरिरहेको जानकारी गराएका थिए। 

प्राधिकरणका त्यस प्रकारका अनिर्धारित र अनियमित विद्यूत आपूर्तिका कारण उद्योगहरुमा मिल मेशिनरी, औजार, प्रविधि, कच्चा पदार्थ, तयारी वस्तु आदि विग्रने एवं नष्ट हुने, श्रमिकहरुको कार्यगति र व्यवस्थापनमा अवरोध पुग्ने, उत्पादित वस्तुको गुणस्तर र क्षमतामा ह«्रास आउनेलगायतका प्रत्यक्ष समस्याहरु उत्पन्न भई उद्योगहरु अनपेक्षित व्ययभारको चपेटमा परिरहेको अध्यक्ष राठीले बताए। 

उनले त्यसबाट उत्पादित वस्तुहरुको लागत खर्च उच्च हुने, प्रतिस्पर्धी क्षमता एवं मुलुकको उत्पादकत्व घट्ने तथा त्यसको नकारात्मक प्रभाव उद्योगी, श्रमिक, आम उपभोक्ता हुँदै मुलुकको अर्थतन्त्रसम्म पर्ने गरेको ईंगित गर्दै उक्त समस्याहरुलाई यथाशीघ्र समाधान गराउन कदम चाल्न प्रादेशिक प्रमुखलाई अनुरोध गरेका थिए।

सोप्रति प्राधिकरणका प्रदेश प्रमुखले ती विषयहरुमा आफू पनि केही हदसम्म जानकार रहेको बताउँदै त्यसका लागि आफूले यस क्षेत्रका प्राधिकरणका कार्यालय प्रमुखहरुसँग आन्तरिक बैठक बसी समस्याको वास्तविकताको अध्ययन गरी समस्या निराकरणका लागि आवश्यक कदम चाल्ने तथा उद्योगीहरुसँग पुनः प्रतिक्रिया लिने आश्वासन दिएका थिए ।

टोलीमा संघका अध्यक्ष अनुपम राठी सहित महासचिव संजय श्रेष्ठ,  सदस्य अमित राठी, प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीलगायतको सहभागिता रहेको थियो ।