आर्थिक अवस्था सुदृढ गर्न आवश्यक
- 2 years ago
विराटनगर, १३ भदौ २०८०। मोरंग व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यनवी न रिजाल र संघका उपाध्यक्ष अनिल कुमार साहले नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । सो भेटघाटका क्रममा मुलुकको आर्थिक अवस्था सुदृढ गर्न आवश्यक पहल गर्ने विषयहरुमा छलफल भएको थियो ।
संघका अध्यक्ष नवीन रिजालले हालको देशको आर्थिक अवस्था राम्रो नभएकोले नेपाल सरकार अन्तर्गत सेतो हात्तीका रुपमा रहेका विभिन्न समितिहरुलाई अविलम्ब खारेज गरिनु पर्ने, सरकारी कर्मचारीहरुको नियुक्ती, राजनीतिक नियुक्ती, कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता, भ्रमण भत्ता, नयाँ सवारी साधन खरिद, अनुत्पादक क्षेत्रमा हुने खर्च लगायतलाई पूर्ण रुपमा राज्यले बन्द एवम् खारेजी गरी विकास खर्च तर्फ ध्यान दिई देशको आर्थिक स्थिति चलायमान बनाउनका लागि कठोर नीति बनाउन संसदमा आवाज उठाइदिन समेत डा. शेखर कोइरालासमक्ष अनुरोध गरे।
साथै, अध्यक्षले संघले धेरै पटक गरेको पहलको परिणाम स्वरुप नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ प्रथम संशोधनमा गरेको संशोधनले उद्योग व्यवसायीमा केही राहत भएको जानकारी गराए । साथै अध्यक्षले हाल देखिएको व्यापारमा कहाली लाग्दो मन्दीबाट व्यवसायलाई चलायमान बनाउन बजेटको ४० प्रतिशत विकास खर्चमा प्रयोग गर्नुपर्ने र चालु खर्च घटाउनु पर्ने सुझाव दिए ।
उक्त छलफलमा डा. कोइरालाले मुलुकको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै अब पनि देशप्रति गम्भीर नभए ठूलो दुर्घटना निम्तिन सक्ने हुँदा मुलुकलाई दुर्घटनाबाट जोगाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने र संघबाट प्राप्त उचित सुझावहरुलाई आफूले संसदमा आवाज उठाउने समेत आश्वासन दिए ।