ऐन तर्जुमाका लागि राजस्व नीतिबारे सुझाव संकलन
- 1 year ago
विराटनगर । आन्तरिक राजस्व कार्यालय, विराटनगरले आर्थिक ऐन तर्जुमाका लागि राजस्व नीति विषयक सुझाव संकलन कार्य सुरु गरेको छ । मोरङ उद्योग व्यापार संघको सभाकक्षमा अर्थमन्त्रालयका राजस्व सचिवको उपस्थितिमा आगामी आ.व. २०८२।०८३ को आर्थिक ऐन तर्जुमा गर्दा निजी क्षेत्रका संघसंस्थाको सहभागितामा सो सुझाव संकलन गरेको हो ।
सो क्रममा उद्योग र व्यवसायको हकमा नेपाल सरकारले राजस्व नीतिलगायत भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, गैरकर एवं राजस्व चुहावट र समग्र राजस्व प्रशासनमा गर्नु पर्ने सुधारहरुका विषयमा सुझाव संकलन एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकार, अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरे, सहसचिव उत्तर कुमार खत्री, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहाल, भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मा र जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको सहभागिता रहेको तियो । सो कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले विषयगत रुपमा आफ्नो राय सुझाव सहितको प्रस्तुति पेश गरेका थिए ।
कार्यक्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य इटहरी, भद्रपुर, धरान, लहान र दमकका अन्तरिक राजस्व कार्यालयका प्रमुख करअधिकृतहरुको सहभागिता रहेको थियो ।
त्यस्तै मेची र सुनसरी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतहरु, राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश, चेम्बर अफ कमर्श र विराट व्यापार संघ, नेपाल चार्टड एकाउन्टेन्ट संघ, अडिटर एशोसिएसन नेपाल लगायत विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु सहभागी थिए ।
त्यसैगरी मोरङ उद्योग व्यापार संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरु, विभिन्न औद्योगिक÷व्यावसायिक प्रतिष्ठानहरुका प्रमुख एवं प्रतिनिधिहरुलगायतको व्यापक सहभागिता रहेको थियो ।