विद्युत आपूर्तिबारे उद्योग संगठन मोरङको ध्यानाकर्षण
- 1 year ago
विराटनगर । भारतबाट आयात हुँदै आएको विद्युत बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म पूर्णरुपमा कटौति गर्ने र औद्योगिक प्रतिष्ठानहरुमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ हुन सक्ने विभिन्न संचार माध्यममा आएको खबरप्रति उद्योग संगठन मोरङले गम्भीर ध्यानाकर्षण गरेको छ ।
प्रेस विज्ञपितमार्फ उद्योग संगठन मोरङले सरकारको गम्भीर ध्यानाकर्षण गरेको हो । उसले भनेको छ, त्यसैपनि गत पुस महिनादेखि नै अघोषितरुपमा दैनिक ४–६ घण्टा विद्युत आपूर्तिको समस्या झेलिरहेका औद्योगिक प्रतिष्ठानहरुलाई थप कष्टकर बनाउने भएकोले तत्काल यस समस्याको समाधान खोज्न उद्योग संगठन मोरङले नेपाल सरकार सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ ।
विगत पाँच सात वर्षदेखि नै हरेक सुख्खा याममा विद्युत आपूर्ति अवरुद्ध हुँदा संगठनले सशक्त आवाज उठाइरहेको र सम्बद्ध पक्षबाट ट्रान्समिशन लाइन निर्माण भइसकेको चाँडै यसप्रकारको विद्युत आपूर्तिमा अवरोध नहुने आश्वासन दिइरहेको थियो ।
तर हाल भारतबाट आयात कटौती भई विद्युत आपूर्ति अवरुद्ध हुने जस्तो कुराले उद्योगी व्यवसायीहरुलाई आश्चर्य चकित मात्रै बनाएको छैन विद्युत आपूर्तिको दीर्घकालीन व्यवस्थापन गरी समस्या समाधानका लागि कुनै ठोस पहल र प्रयास नभएकोमा चिन्तित समेत तुल्याएको छ । यस अवस्थाले उद्योगहरुमा ६–१२ घण्टासम्म विद्युत आपूर्ति पूर्ण रुपमा बन्द गर्ने विषयले थप अन्यौलता थपेको छ ।
निजी क्षेत्रले अनुमानयोग्य औद्योगिक वातावरण हुनु पर्दछ भनेर निरन्तर माग गर्दै आएको विदितै छ । बजारमा कहिले तरलता अभाव, कहिले ब्याज बृद्धि, आर्थिक संकुचन एवं कहिले झ्याप्प कसिलो त कहिले खुकुलो गर्ने नीतिगत अस्थिरताको चपेटामा परेको नेपालको औद्योगिक क्षेत्र हाल आएर पर्याप्त भनिएको विद्युत जस्तो आधारभूत तथा संवेदनशील स्रोतको उपलब्धतामा समेत आयातमा आश्रित हुनु पर्ने अवस्थाले अन्योलता बढेको छ । आफ्नै मुलुकमा प्रचुरमात्रामा रहेको जलस्रोतको धनी देश हुँदाहुँदै पनि दीर्घकालिन सोच, आत्मनिर्भरताप्रतिको ठोस कार्य नगर्दा औद्योगिक क्षेत्र प्रताडित बनेको छ ।
उर्जा उद्योगको आधारभूत कच्चा पदार्थ हो । माग अनुसारको विद्युत नियमित आपूर्ति हुने सुनिश्चिततासंगै एउटा लगानीकर्ताले उद्योग कलकारखानामा लगानी गर्दछ । तर विद्युत आपूर्तिमा देखिएको अनिश्चितताका कारण भएको लगानी जोखिममा पर्ने मात्र नभई नयाँ लगानी समेत प्रभावित हुने निश्चित भएकाले प्रत्येक वर्ष सुख्खायाममा दोहोरिने निरन्तर विद्युत आपूर्तिको समस्याका समाधान गर्न संगठनले माग गरेको छ ।
साथै भारतबाट आयात भइरहेको विद्युत आपूर्ति अवरुद्ध हुँदा उद्योग व्यवसायलाई निरन्तर विद्युतउपलब्ध गराउन प्राधिकरणको के कस्तो योजना छ सो सार्वजनिक गर्न सगठन नेपाल सरकार उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण समक्ष जोडदार माग गर्दछौं विज्ञप्तिमा भनिएको छ ।
विद्युत आपूर्तिमा सुख्या याममा हरेक बर्ष नै यो तहको विकराल समस्या थाहा हुँदाहुँदै पनि ठोस योजना ल्याउनभन्दा पनि सरकारका सम्बद्ध निकायहरु बिचमा नै आपसी द्वन्द्वको अवस्था हुनु दुःखद रहेको भन्दै उद्योगहरुमा निरन्तर र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्थाका लागि तत्काल ठोस कदम चाल्न संगठनले नेपाल सरकारलाई अनुरोध गरेको छ ।