बिहीबार उपाधिका लागि मोरङ र सप्तरी भिड्ने
- 1 year ago
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शीर्ष स्थानमा रहेको छ ।
मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्दै अपराजित हुँदै शीर्ष स्थानमा रहेको हो । यस अघिनै मोरङ र सप्तरी फाइनलको यात्रा तय गरेका छन् । मोरङ खेलेको तीनै खेलमा जित हात पार्दै ६ अंक जोडेको छ भने सप्तरीले ३ मा २ खेलमा जित हात पार्दै ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाइ ८१ रन जोडेको छ । सप्तरीकी साक्षी यादवले सर्वाधिक अविजित ४२ रन जोडिन् । मोरङकी निरु राजवंशीले १ विकेट लिँदा फूलकुमारी राजवंशी र बन्धना राजवंशी र क्रितिशा राजवंशीले १–१ विकेट लिए ।
८२ रनको लक्ष्य पछ्याएको मोरङले १० दशमलव ५ बलमा ३ विकेट गुमाइ सो विजयी लक्ष्य पार गरेको थियो । मोरङको जितमा प्लेयर अफ द म्याच टिका साहले ४१ रन बनाउँदा प्रिन्सा रानामगरले अविजित १५ रनको योगदान दिइन् । टीकाले ३० बलमा ६ चौका प्रहार गरिन् । सप्तरीकी दीपा रामले २ विकेट लिइन् ।
प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना भएको हो । इक्युवालिटि कप क्रिकेटको उपाधिका लागि बिहीबार मोरङ र सप्तरीबीच खेल हुनेछ ।