खेलकुद महानगरको उच्च प्राथमिकतामा
- 2 years ago
विराटनगर,१७ असार २०८०। विराटनगर महानगरपालिका वडा नम्बर १९ को आर्थिक सहयोगमा सुनौलो नेपालले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक विकाससँगै अनुशासित बनाउने बताए । उनले अनुशासित नागरिकले मात्रै समाजलाई रुपान्तरण गर्ने दाबी गरे । मेयर कोइरालाले महानगरले अन्य क्षेत्रलाई झैं खेलकुदलाई पनि उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उनले १९ नम्बर वडास्थित वैजनाथपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी कार्य भइरहेको उल्लेख गरे ।
कार्यक्रममा विराटनगर वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेले आगामी वर्षदेखि प्रतियोगितालाई वृहत बनाउने प्रतिबद्धता जनाए । उनले १९ नम्बर वडामा मात्रै सीमित नराखेर महानगरका अन्य वडालाई पनि सहभागी बनाएर महानगरस्तरीय बनाउने जानकारी दिए । खेलकुदका माध्यमबाट वडाको पहिचान स्थापित बनाउने उहाँले बताए । वैजनाथपुर रंगशालाको जीर्णोद्वार प्रचारप्रसार गर्ने उनको भनाइ थियो ।
यसैबीच, फाइनल खेलमा साविकको बैजनाथपुर वडा नम्बर २ खवास टोल विजयी भएको छ । खवास टोलका लागि सुजित खवासले गोल गरेका थिए । खवास टोलले साविक वडा नम्बर १ मिलन चोकलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
विजेता टिमलाई १५ हजार र उपविजेतालाई १० हजार रुपैयाँ नगद राशिसहित ट्रफी, मेडल र प्रमाण विजेता प्रदान गरिएको थियो । असारमा सुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको आयोजक सुनौलो नेपालका अध्यक्ष सुमन बञ्जराले जानकारी दिए ।