प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता शुरु

  • 1 year ago
प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता शुरु


विराटनगर  । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता आइतबारदेखि विराटनगरमा शुरु भएको छ ।
आइतबारदेखि विराटनगरको दुईवटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । 

वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई  १० विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको उदयपुरले निर्धारित ४३ ओभरको खेलमा ३५ दशमलव २ बलमा सवै विकेट गुमाइ ७६ रनको सामान्य रनमा सिमित भएको छ । उदयपुरका लागि प्रभात किरणले सर्वाधिक २६ रनको योगदान दिए । मोरङका प्लेयर अफ म्याच  प्रेम कामतले ५ विकेट लिँदा दिपेश कँडेल र मिनस थापाले २–२ विकेट लिए ।

७७ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले  १५ ओभरमा विना क्षति सो लक्ष्य पार गरेको थियो । मोरङको जितमा सकिवहकले अविजित ३६ रन बनाउँदा चिराग साहले अविजित ३१ रनको योगदान दिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले इलामलाई ३८ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सवै विकेट गुमाई ९२ रनको सामान्य योगफल बनायो । सुनसरीकालागि सुमन घतानीले सर्वाधिक ४२ रनको योगदान दिए । प्लेयर अफ म्याच इलामका हेमन राई ७ विकेट लिए ।

९३ रनको विजयी लक्ष्य पाएको इलाम १७ दशमलव २ बलमा सबै विकेट गुमाई ५४ रनमा सीमित भयो । इलामका शिवान्स बजगाईले सर्वाधिक १६ रनको योगदान दिए । सुनसरीका प्रकाश खत्रीले ४ विकेट लिँदा भुपाल लुईँटेलले पनि ४ विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरी ५ टिम सहभागी रहेको कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बताए । विहिबारसम्म भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रधानमन्त्री कप–२०८१ का लागि छनोट गरिने उनले बताए ।