मोरङ र सप्तरी इक्युवालिटि कप क्रिकेटको फाइनलमा

  • 1 year ago
मोरङ र सप्तरी इक्युवालिटि कप क्रिकेटको फाइनलमा

 
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर– ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथो संस्करणको  ‘इक्वालिटि कप क्रिकेट २०२५’  प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी प्रवेश गरेका छन् ।

लगातार दुई खेल जितेका मोरङ र सप्तरी एक खेलअगावै फाइनलको यात्रा तय गरेका हुन् । साविक विजेता मोरङले इलामलाई ९ विकेटले पराजित गरेको छ । लगातार दुई खेलमा जित हात पार्दै ४ अंक जोडेको मोरङ शीर्ष स्थानमा रहन्दै फाइनलको यात्रा तय गरेको हो । 

लगातार दुई खेलमा पराजीत इलाम प्रतियोगिताबाट बाहिरिएको छ ।  टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ४ बलमा सबै विकेट गुमाइ ६२ रनमा सिमित भयो । 

इलामका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् भने इलामले ४१ रन अतिरिक्त रन पाएको थियो । मोरङकी सानु राजवंशीले २ विकेट लिँदा चाँदनी साह, फूलकुमारी राजवंशी र बन्धना राजवंशीले २–२ विकेट लिइन् । 

६३ रनको झिनो लक्ष्य पछ्याएको मोरङले ५ दशमलव ५ बलमा १ विकेट गुमाइ सो विजयी लक्ष्य पार गरेको थियो । मोरङको जितमा प्लेयर अफ द म्याच पूर्णीमा राजवंशीले अविजित ३२ रन बनाउँदा सानु राजवंशी १० रनको योगदान दिइन् । पूर्णीमाले २७ बलमा ६ चौका प्रहार गरिन् । इलामकी रञ्जना लिम्बूले १ विकेट लिइन् । 

दोस्रो खेलमा  सप्तरीले सिरहालाई ८ रनले पराजित गरेको छ । सप्तरीले खेलेको दुई खेलमा जित हात पार्दै दोस्रो स्थानमा यथावत रहेन्दै फाइनलमा प्रवेश गरेको छ । सिरहाले दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २ रनको सामान्य योगफल तयार पारेको थियो । सप्तरीकी प्लेयर अफ द म्याच साक्षी यादवले सर्वाधिक ५७ रन बनाइन् । उनले ५४ बलमा ६ चौका प्रहार गरिन् । सिरहाकी अनुराधा चौधरीले ४ विकेट लिँदा सरस्वती चौधरीले ३ विकेट लिएकी थिइन् । 

१ सय ३ रनको सामान्य लक्ष्य पछ्याएको सिरहाले पूरै ओभर खेल्दै ९ विकेट गुमाइ ९४ रन बनाएको थियो । सिरहाकी सरस्वती मुखियाले अविजित १३ रन बनाउँदा प्रसिद्का खड्काले अविजित ११ रन बनाइन् । सप्तरीकी अपेक्षा यादवले ४ विकेट लिँदा साक्षी यादव र सुस्मीता यादवले समान २–२ विकेट लिइन् । 

प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना भएको हो ।