सुन्दर विराटनगर बनाउने हो? यस्ता छन् तत्काल गर्नुपर्ने कामहरू
- 2 years ago
—यज्ञप्रसाद शर्मा
विराटनगर नाम चलेको शहर भएर पनि विकास अभियान र सोन्दर्यकरणमा धेरै पछाडि छ । हालै गरिएको एक अध्ययनमा विराटनगर नेपालका सुन्दर शहरहरूको सूचीमा छैठौंमा परेछ । पोखरा, काठमाण्डौँ, बुटवल, भरतपुर र ललितपुरभन्दा पनि पछाडि । वास्तवमा भन्ने हो यस समाचारले विराटनगरबासीको मनमा हुटहुटी पलाउनुपर्ने हो, माहौल तातो भइसक्नुपर्ने हो । तर तल पर्दै गरेको खबर पनि विराटनगरले चुपचाप सुनिरहेको छ । सुन्ने मात्र होइन एक कानले सुनेर अर्को कानले उडाइरहेको देखिन्छ ।
कुनै पनि शहर बन्नका लागि त्यहाँ सामान्यतया आवास, यातायात, सरसफाइ, उपयोगिताहरू, भूमि प्रयोग, सामान उत्पादन र सञ्चारको सुव्यवस्थित प्रणालीहरू स्थापित भएको हुनुपर्दछ । विराटनगर महानगरपालिका भएर पनि सो अनुसार विकास अभियान र कामको लय देखिएको छैन । भन्दा लज्जाबोध हुन्छ कि महानगरपालिकाले विगतमा गलत ढङ्गले निर्माण गरेको संरचना भत्काउने माग गर्दै नागरबासीले नाराजुलुश गरिरहेका छन् । स्थानीय तहको काम हेरेर जनता आशावादी हुनुपर्नेमा झन्झन् निराश भइरहेका छन् । कतिपयले बौद्धिक समुदायको बासोबास र साधना क्षेत्र भएर पनि विराटनगरको यो दुर्दशा हुनुमा सामाजिक र बौद्धिक क्षेत्रको भूमिका वा पहल नहुनुको परिणाम हो भनेका छन् । विकासको काममा बौद्धिकहरूले चासो नराखी राजनीतिक क्षेत्रलाई एकलौटी छाड्नुको पीडा सिङ्गो शहरले भोगिरहेको छ । राजनीतिक व्यक्तिहरू र महानगरका पदासीनहरू शहर निर्माणलाई साझा सरोकारको विषय नै ठान्दैनन् कि क्या हो ? कर्मचारीको भरमा कोठे योजना बनाउँछन् । शहरका बुद्धिजीवीहरूलाई सहभागी गराउनुपर्छ भन्नेसम्म चेत देखिँदैन । नगरबासीको राय लिने त आवश्यक नै ठान्दैनन् । यस्तो छ एकाशौं शताव्दीको विराटनगरको विकासको शैली ।

के यहाँका नागरिकलाई सबैकुरा पुगीसरी आएर नै त्यस्तो भएको हो त ? पक्कै होइन । यहाँ आम सरोकारका समस्याहरू बग्रेल्ती छन् । बाइबास रोड, रिङरोड, विराटनगर विमानास्थलको स्तरनोन्नति, विपन्न वर्गका लागि आवास, आयआर्जनका योजना, फोहर व्यवस्थापन, शुद्ध खानेपानीको व्यवस्था आदि । नगरबस चलाउन रुट छैन । विराटनगर बसपार्क र हाटखोला बसपार्कबीच परिवहन कनेक्सन छैन । विगतका चर्चित बरगाछी, महेन्द्रचौक जस्ता चोकहरू ठूटा वा मुडुला छन् । बरगाछी नाम भएको ठाउँमा पितापुर्खाको मूर्ति ल्याएर राजनीतिक रङ भर्ने बेढङ्गाका हरकत देखिएका छन् । तर मध्यरातमा हुइँकिएर आएको ट्रकले हानेर मूर्ति धुलोपीठो पार्दा पनि तिनको मन दुख्दैन । विकास योजनाबारे, प्रगति वा अवनतिबारे कहीँ कतै बहस हुँदैन, मृत शहर जस्तै भएको छ आजको विराटनगर । यहाँका नागरिक सबै पुगीसरी आएका होइनन् तर उनीहरूमा विकासको चाह छैन । अझ भनौ, इस्तो लाग्छ कि यहाँ श्मशानघाटका अघोरीहरू मात्र बस्छन् जसलाई शहरको विकास र सौदर्यप्रति पूर्णतया वैराग्य प्राप्त छ ।
अब चर्चा गरौ, यहाँका नेताले विकासको अवधारणा अँगाल्न नसक्नुको कारणबारे । विराटनगर कुनै विज्ञको योजनाले बनेको शहर होइन । जग्गा कारोबारीहरूले कोरेको गोरेटोसँगै फैलिएको सहर हो । विकास योजना र आवश्यकताको आधारमा बनेको होइन जता जमिन महँगो छ त्यतै विस्तार भइरहेको छ । विकासको नाममा हिमालय रोडजस्तो चल्ती सडक मासेर फलैँचा बनाउने ‘नेताबुद्धि’ देखिएकै हो । विराटनगरमा पाँचवटा आकाशे पुल बनाएको कथा सिर्जना गरी ‘ऐतिहासिक काम’को पगरीसहित पुस्तक छपाएकै हो । तर पनि यहाँका नेता र नागरिक बोल्दैनन् । मूकदर्शक छन् । सचेत नगर भनेर चिनिने विराटनगर अहिले खम्बाजस्तै प्रतिक्रियाविहीन बनेको छ । यो अवस्थाले पनि आम नागारिकमा व्यापक असन्तुष्टी र निराशा छाएको छ, जुन स्वाभाविक हो ।
मैले यहाँ विराटनगरको दुःखद गाथा खोतलेर इतिहासको समीक्षा गर्न खोजेको हुँ । मूलतः विराटनगर जस्तो शहरको विकास एउटा मात्र पक्षको जिम्मेवारी र सरोकारको विषय होइन । यो त सबै विराटनगरबासीको साझा चिन्ताको विषय हो । यस शहरमा एकसे एक अर्थशास्त्री, योजनाविद र इञ्जिनियरहरू छन् । कानून र सञ्चारका विज्ञहरू छन् । सूचना प्रविधिको क्षेत्रमा माइक्रोसपm्ट कम्पनीको जिम्मेवारी लिइरहेकादेखि नवप्रबर्तनको अभ्यास गरेर अन्तरिक्षको खोज गरिरहेकाहरू छन् । कसैले देखे पनि नदेखे पनि भविष्यमा किमाथाङ्का–जोगबनी सडक बनेपछि असंख्य सम्भावना बोकेको शहर हो । तर, यसको योजनाबद्ध विकास हुन नसकेको कारण पछाडि परेको अस्तव्यस्त शहर पनि हो । आगामी दिनमा विराटनगर महानगरपालिकाले वृहत्तर गुरुयोजना बनाएर सर्वदलीय र सर्वपक्षीय भावना समेटेर अगाडि बढोस् भन्ने आशय हो । त्यसो भए मात्र यहाँका असंख्य संसाधनको अधिकतम सदुपयोग र योजनाबद्ध विकासको थालनी भई महानगरबासीमा रहेको निराशालाई आशामा परिणत गर्न सकिन्छ ।
अहिले हामी आर्थिक वर्षको बीचमा छौं । यो योजना बनाउने समय होइन, बनेका योजना कार्यान्वयन गर्ने बेला हो । त्यसैले यो लेखमार्फत सुन्दर विराटनगरका लागि पाँचवटा सोच र गर्नुपर्ने कामहरू प्रस्तावित गरेको छु, जुन यसै आर्थिक वर्षबाट थालनी गर्न सकिनेछ ।
प्रथम, विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेका पुरानो गुद्रीका खाली जमिनहरूका लागि स्पष्ट योजना आओस् । गौचरण र गाडी पार्किङका लागि खाली गरिएका हुन् कि महानगरपालिकाको कुनै योजना पनि छ भन्ने कुरा नागरिकले थाहा पाउनुपर्दछ ।
दोस्रो, बरगाछी चोक र महेन्द्र चोकको सौन्दर्यकरणमा ध्यान जाओस् । के यी चोकहरू ठूटो जस्तै भएर मुडुलो राख्नुपर्ने स्तरमा पर्दछन्? मेरो विचारमा विराटनगरका अत्यन्त महत्वपूर्ण र ऐतिहासिक गरिमा भएका चोकहरू हुन् यी । त्यसैले यिनलाई मुडु.लो राख्दा विराटनगरको सौन्दर्यकरण अधुरै रहन्छ । त्यसैले बरगाछीमा बरको रुखको प्रतिमा र महेन्द्रचोकमा उचित प्रतिमा राखौँ । नाम बरगाछी, अनि प्रतिमाचाहिँ कुनै महापुरुषको राख्नु सुहाउने कार्य होइन । त्यसैले सकिन्छ बरकै सानो गाछी राखौ, सकिन्न भने प्रतिकात्मक बरको पाँचवटा पात वा बरको फल (पातसहितको झुप्पा)को प्रतिमा राखौं । प्रतिमा जेको भए पनि पर्याप्त सडकबत्तिको व्यवस्था गरौं, ता कि रात्रिकालीन समय तीब्र गतिमा रहेका ट्रकका ड्राइभरको दृष्टि त्यसमा सजिलै पर्न सकोस् ।
तेस्रो, महेन्द्र चोकमा पूर्व राजा महेन्द्रको शालिक रहेको थियो । त्यसैलाई पुनस्र्थापित गरे पनि हुन्छ । इतिहासको संरक्षण हुन्छ । त्यसलाई नराख्ने हो भने पनि विकल्पहरू छन् । महेन्द्रचोकलाई पछिल्लो समयमा जनआन्दोलन चोक पनि भनिन्छ । त्यसैले आन्दोलन वा चेतनाको प्रतिकात्मक अर्थ दिने प्रतिमा त्यहाँ राख्न सकिन्छ । आन्दोलनको प्रतिक पनि ऐतिहासिकतासँग र तराईंको संस्कृतिसँग मिल्ने हुनुपर्दछ । राँको बोकेको वा मुठी बटारेको प्रतिमाले मात्र आन्दोलनको आभाष दिन सक्दैन । उपयुक्त विकल्प बलिरहेको लालटिनको प्रतिमा हुनसक्छ । तराईंका आम नागरिकले बिजुली आउनुपूर्व घर र झुपडी उज्यालो पार्नका लागि प्रयोग गरिने एक प्रकारको बत्ती हो लालटिन । जसलाई झुण्ड्याएर भित्र वा बाहिर उज्यालो बनाउन सकिन्छ । त्यस ठाउँमा शिक्षक, विद्यार्थी र राजनीतिक कार्यकर्ताले धेरै पटक लालटिन जुलुश गरेर त्यो चोकको परिक्रममा गरेका छन्, त्यही गरेवापत प्रहरीको लाठीचार्ज खेपेका छन् । लालटिन तराईंको सांस्कृतिक प्रतिविम्ब र बिजुलीबत्ति आएसँगै लोप भएको साधन पनि हो । त्यसले तराईमा बिजुलीबत्ती आउनुअघिको ऐतिहासिक अवस्थाको प्रतिनिधित्व गर्ने भएकोले लालटिनको प्रतिमा नै यहाँ उपयुक्त हुनसक्छ ।
त्यसो त विराटनगरको प्रवेशद्वार भत्काउने प्रसङ्ग चल्दा विराटनगर चिनाउने महत्वपूर्ण संरचना खोइ भन्ने चर्चा चल्छ । विराटनगरको प्रतिनिधित्व गर्ने सांकेतिक संरचना पनि यही प्रतिमा बन्नसक्छ । यदि महेन्द्र चोक वा जनआन्दोलन चोकमा विशाल स्वरुपको लालटिनको प्रतिमा बनाएर वरपर सबैतिर झिलिमिलि पारिदिने हो भने त्यो विराटनगरलाई चिनाउने मानव निर्मित संरचना बन्नसक्ने सम्भावना हुनेछ ।
चौथो, विराटनगरमा सार्वजनिक रुपमा उभिएर कुनै कुराको पक्ष वा विपक्षमा प्रदर्शन गर्ने ठाउँ छैन । त्यस कामका लागि पञ्चायतकालदेखि प्रयोग हुँदै आएको हिमालय रोड अहिले अस्तित्व विहीन बनेको छ । महेन्द्र चोक वा ट्राफिक चोकमा उभिएर प्रदर्शन गर्दा आवागमनमा बाधा पुगेको देखिन्छ । सवारीसाधनमा यात्रा गरिरहेकाहरूले प्रदर्शन हेर्ने सम्भावना रहेको छैन । हरेकपटक प्रदर्शनकारीले कुनै न कुनै यात्रीबाट गाली खानु परिरहेको छ । यसलाई मध्यनजर गर्दै हिमालय हलको छेउमा रहेको खाली जमिन जुन अहिले साप्ताहिक रुपमा शनिबार सस्तो बजार लाग्ने गरेको छ, लाई महानगरपालिकाले लिजमा वा खरिद गरेर लिने हो भने प्रदर्शनीस्थलका रूपमा विकास गर्न सकिने सम्भावना छ । किनभने महेन्द्रचोक वा जनान्दोलन चोक ऐतिहासिक आन्दोलनको केन्द्र र हरेक राजनीतिक परिवर्तनको साक्षी हो । त्यसलाई प्रदर्शनीस्थलको रुपमा विकास गर्न सके कुनै दिवस मनाउँदा होस् वा केही कुराको समर्थन वा विरोध गर्नुपर्दा काठमाण्डौको माइतीघर मण्डेलामा जस्तै मानिसहरू उभिने साझास्थल बन्न सक्नेछ । हरेक राजनीतिक आन्दोलनको इतिहासबोकेको र प्रदेशको राजधानी रहेको विराटनगरमा त्यो अति आवश्यक छ । जमिन खाली भएको बेला नै महानगरपालिकाले यसका लागि योजना बनाएर काम अगाडि बढाउन जरुरी छ ।
पाचौं, विराटनगरमा नगरबस सञ्चालन र नगरबसका लागि रूट आवश्यक छ । नागरिकको सहज आवागमन र नगरबसको सहज चालका लागि पुष्पलालचोक, विराटनगर बसपार्क र हाटखोला बसपार्कबीच सहज कनेक्टिभिटी आवश्यक छ । त्यसका लागि मुख्य रूट निर्धारण गरेर सडकलाई व्यवस्थित गर्नुपर्ने हुन्छ । त्यो काम महानगरपालिकाले नै गर्न सक्छ ।
नोटः शर्मा एलिट क्लब विराटनगरका महासचिव र नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय कमिटीका सचिव हुनुहुन्छ ।