नेताको भूमिका नै समृद्धिको बाधकः प्रा. पोखरेल

  • 2 years ago
leaders role is one of the barriers of prosperous Nepal

 शुभसन्देश 

विराटनगर, २९ असार । 

विराटनगरका बौद्धिकहरुको संस्था एलिट क्लबमा आयोजित समकालीन राजनीति र युवाका सवाल विषयक अन्तरक्रियामा बोल्दै पोखरेलले मुलुक गलत बाटोमा धकेलिएको कारण यसलाई सच्याउन निक्कै कठिन हुने विचारसमेत व्यक्त गर्नुभयो । 

एकातिर युवाहरु भविष्य निर्माणको उद्देश्य राखेर विदेश पलायन हुने अर्कोतिर मुलुकमा सुधारको संकेत नदेखिने भएपछि सबै नेपाली निराश बनिरहेको उल्लेख गर्दै उहाँले मुलुकलाई सुधारेर लैजान मूल प्रवाहका दलहरुले राजनीतिमा युवाको सहभागिता सुनिश्चित गर्न ढिलो गर्न नहुने बताउनु भयो । 

‘बुढा नेताहरुले पदको लोभ नगरी ठाउँ खाली गर्ने हो भने युवाले राजनीतिमा भूमिका  पाउनेछन् ।’ प्रा.पोखरेलले अगाडि भन्नुभयो, ‘अहिले न रोजगारीको अवसर छ न राजनीतिमा स्थान नै, मन थामिने ठाउँ त चाहियो नि ।’ 

देशमा आर्थिक सङ्कट बढ्दो क्रममा रहेको प्रसङ्गमा पोखरेलले नेपालले राष्ट्रिय मुद्दामा एकता र विदेश मामिलामा असंलग्न भएर मात्र अहिलेको विश्व राजनीतिक समुद्रमा देखिएको नवीनतम छालबाट जोगिन सहिने बताउँदै छिमेकी देशबाट फाइदा लिने गरी राष्ट्रिय हितमा दह्रो उभिने नेतृत्व मुलुकले खोजेको छ, भन्नुभयो । 

युवा पुस्ताले आदर्श नेता र आदर्श राजनीतिको खोजी गरिरहेको वर्तमान अवस्था चित्रण गर्दै उहाँले समकालीन राजनीतिमा त्यस्तो पात्र नदेखेर निराश भएको हुन् । रवि लामिछाने, हर्क साङपाङ र बालेन्द्र शाहप्रति देखिएको युवा पुस्ताको समर्थनलाई त्यस रुपमा लिनुपर्ने सुझाव दिनुभयो । 

पोखरेलले आगामी दिनमा मूल प्रवाहका पुराना दलले युवा पुस्ताको मन जित्ने आकर्षक कार्यक्रम नल्याए उनीहरुको अवस्था अझ कमजोर हुनसक्ने सम्भावना औल्याउनु भयो । उहाँको सुझाव छ, मूल प्रवाहका राजनीतिक दलहरुले युवा पुस्ताको विश्वास जित्ने गरी काम र युवा पुस्ताका लागि अवसर दिने विषयमा सोचिहाल्नु पर्दछ । 

एलिट क्लबका पूर्व महासचिव प्रा.पोखरेलको प्रस्तुतिपछि क्लबका पूर्व अध्यक्ष महेन्द्र प्रसाद रिजाल, प्रा.डा. मेदनीप्रसाद शर्मा, प्रा.डा.खगेन्द्र आचार्य, डा.मेदनी सेडाइँ, टीकाप्रसाद लामिछाने, मणि अर्याल, सुधिर अर्याल, रविन दाहाल लगायतले जिज्ञासा मुलक विचार व्यक्त गर्नुभएको थियो । 

क्लबका अध्यक्ष विश्वनाथ रिजालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा स्वागत तथा सञ्चालन महासचिव यज्ञप्रसाद शर्माले गर्नुभएको थियो ।