विराटनगरको पुनर्जीवनका लागि बहस चलाउन आवश्यक
- 2 years ago
विराटनगर, १७ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जीवनका लागि बहस चलाउन आवश्यक भएको बताएका छन् । शनिबार विराटनगरस्थित अतिथि सदनको स्वर्ण जयन्ति समारोहमा बोल्दै उनले सो कुरा बताउएका हुन् ।
६ भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरुको नगर विराटनगर कुनै बेला राजनीतिक आन्दोलन र उद्योगधन्दाको केन्द्र थियो, तर अहिले विराटनगरमा न त हिजोका जस्ता राजनीतिक नेतृत्व छ न त उद्योगधन्दा नै छन् । त्यसैले अहिले विराटनगर निदाएको जस्तो छ, सातो गएको बालक र रित्तिएको भाँडो जस्तो भएको छ ’–मुख्यमन्त्री कार्कीले भने ।
विराटनगरलाई कसरी पुनर्जीवन दिन सकिन्छ, के गर्दा पुनः विराटनगर जुर्मुराउँछ भन्ने विषयमा विराटनगरको नेतृत्वले बहस चलाउन आवश्यक भएको उनले बताए । प्रादेशिक राजधानीसमेत रहेको विराटनगरको पुनर्जीवनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । विराटननगरको निर्माणमा माडवारी समुदायले पु¥याएको योगदानको चर्चा गर्दै यहाँको माडवारी समुदायलाई पलायन हुन नदिन विराटनगरले योजना बनाउन आवश्यक भएको उनको सुझाव छ ।
तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी विराटनगर–१९ स्थित झापा बैजनाथपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम भइरहेको स्मरण गराउँदै उक्त रङ्गशालाको निर्माणले विराटनगरलाई पुनर्जीवनमा सहयोग पुग्ने बताए । उनले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न सकेमा विराटनगरको चहलपहल बढ्ने चर्चा गर्दै केपी ओली नेतृत्वको सरकारले सुरु गरेको उक्त कार्यलाई पुनः निरन्तरता दिन आवश्यक भएको औल्याए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विगतमा औद्योगिक र राजनीतिज्ञहरुको नगरीको रुपमा परिचित विराटनगरले पुरानो आफ्नो परिचय गुमाउँदै गएकाले अब कस्तो विराटनगर बनाउने भनेर सोच्नुपर्ने बेला भएको बताए ।