विराटनगर महानगर शैक्षिक सुधार अभियानमा
- 3 years ago
विराटनगर,३१ असार २०८०। विभिन्न अभियान जारी राखेको विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान पनि अगाडि बढाएको छ । अभियानअन्तर्गत महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको अनुगमनलाई तीव्रता दिएका छन् ।
दुई दिनअघि महेन्द्र मावि र सरस्वती माविको आकस्मिक अनुगमन गरेका मेयर कोइरालाले बिहीबार बिहान विराटनगर–६ सरोचियास्थित शिक्षा सदन माविको अनुगमन गरे । शिक्षा सदनमा बिहान पठनपाठन हुँदै आएको छ ।
वडाध्यक्ष हरिशचन्द्र सहनी (अक्षय), शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराई, महाशाखाका कर्मचारी र सचिवालयको टिमसहित विद्यालय पुग्नुभएका मेयर कोइरालाले सुरुमा हरेक कक्षामा पुगेर विद्यार्थीहरुसित मात्रै अन्तत्र्रिmया गरेका थिए ।
मेयर कोइरालासित विद्यार्थीहरुले शिक्षकहरुले कक्षा कोठामा बत्ती नभएको, छात्राका लागि छुट्टै शौचालय नभएको, सेनिटरी प्याड राख्ने डस्बिन नराखेको, शिक्षकहरुले होमवर्क दिए पनि चेक गर्ने नगरेको लगायतका गुनासो पोखेका थिए । शिक्षकहरुले राम्ररी नपढाएकै कारण र विद्यार्थीहरु नियमित कक्षामा नआउने गरेको उनीहरुको भनाइ थियो ।
विद्यार्थीसितको अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षक–शिक्षिकाहरुसित छलफल गरेका थिए । महानगरको मुटुमा भएर पनि विद्यालयको शैशिक गुणस्तर खस्कनुमा प्रधानाध्यापकसहित सबै शिक्षक–शिक्षिकाहरुले जिम्मेवारी लिनुपर्ने उनले बताए । उनले विद्यालय सुधार्नका लागि दुई महिनाको समय दिनुभएको छ ।
दुई महिनाभित्र पनि विद्यालयमा सुधार नआए महानगरले कडा कदम चाल्ने मेयर कोइरालाले चेतावनी दिए । ‘तपाईंहरुलाई दुई महिनाको समय दिएको छु । दुई महिनाभित्र पनि सुधार नभए महानगरपालिका चुप लागेर बस्दैन,’ मेयर कोइरालाले भने, ‘विद्यालयमा विद्यार्थी नियमित नआएको तपाईंहरुलाई चिन्ता छैन । एकले अर्कालाई दोष थोपर्ने र पन्छिने काम अब चल्दैन ।’
राज्यले शिक्षा क्षेत्रमा बजेटको ठूलो हिस्सा लगानी गरे पनि प्रतिफल कमजोर भएको उनको भनाइ थियो । मेयर कोइरालाले सामुदायिक विद्यालयको सुधारका लागि महानगर जस्तोसुकै कदम चाल्न तयार रहेको स्पष्ट पारे ।
महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने उनले बताए । मेयर कोइरालाले शिक्षकहरुसितको छलफलअघि ई–हाजिरीसमेत चेक गरेका थिए ।