विराटनगर क्षेत्रभित्र डेंगु नियन्त्रण र रोकथाम सुरु

  • 2 years ago
विराटनगर  क्षेत्रभित्र शुक्रबारदेखि डेंगु नियन्त्रण र रोकथाम सुरु

विराटनगर,१९ साउन २०८० । विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारीलाई तीव्र पारेको छ । महानगरले शुक्रबारेदेखि  विराटनगर  क्षेत्रभित्र डेंगुको संक्रमण रोकथाम र नियन्त्रण  सुरु गरेको हो । 

डेंगु रोकथाम र नियन्त्रणका उपायका विषयमा महानगरले बिहीबार सफाई शाखाका कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । यसअघि महानगरले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । 

सफाई कर्मचारीहरुलाई डेंगु रोगको स्रोत, रोकथाम र नियन्त्रणका उपायका विषयमा स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । सरफाई गर्ने क्रममा टायर, बाल्टिन, ड्रमलगायतमा पानी जमेको पाइए तत्काल हटाउनुपर्ने उनले बताए । 

डेंगु नियन्त्रण औषधि छर्केरभन्दा घरभित्र र घर वरिपरि पानी जम्न नदिएर नियन्त्रण गर्न सकिने उनको भनाइ थियो । फ्रिज, कुलर, गमला, टायरलगायतमा लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे उत्पादन हुने भएकाले सरसफाईबाटै डेंगु नियन्त्रण र रोकथाम गर्न सकिने हैदरले स्पष्ट पारे । 

अभिमुखीकरण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आफ्नो घर वरिपरिमात्रै सफा गरेर डेंगुको संक्रमणबाट बच्न नसकिने बताए । उनले छरछिमेकीको घरमा पानी जमेको पाइएमा त्यसबाट समेत डेंगु फैलिने दाबी गर्नुभयो । 

यदि छिमेकीको घरमा पानी जमेको देखेमा हटाउन लगाउनुपर्नेमा जोड दिए । ‘आफ्नो घर सरसफाई गरेर मात्रै हुँदैन,’ पराजुलीले भने, ‘छरछिमेकीको घरमा जमेको पानीबाट समेत डेंगु सर्न सक्छ ।’ 

शुक्रबार महानगरले १९ वटै वडामा बिहान ७ देखि ९ बजेसम्म डेंगु सार्ने लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्दैछ । अभियानमा सरिक हुन सरसफाई कर्मचारीहरुलाई उनले आग्रह गर्नुभयो । अभिमुखीकरण कार्यक्रममा सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, मेयर नागेश कोइरालाका स्वकीय सचिव डिकप्रसाद घिमिरे, उपमेयर शिल्पा निराला कार्कीका स्वकीय सचिव निश्चल मायालु, सफाई शाखाका किरण न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।