संयुक्तरुपमा आयोजना गर्ने समझदारी-पत्रमा हस्ताक्षर
- 1 year ago
विराटनगर । भारतको द सब हिमालयन रिसर्च इन्सटिच्युट, पुर्णिया र पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, न्यू दिल्लीद्वारा पूर्णियामा आयोजित भारत–नेपाल साझेदारी शिखर सम्मेलन २०२५ मा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह विशिष्ठ अतिथि तथा मुख्य वक्ताको रुपमा सहभागी भएका छन् ।
नेपाल र भारत बीच सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनैतिक लगायत सबै क्षेत्रमा कायम रहेको ऐतिहासिक मित्रवत सम्बन्धलाई थप आयाम दिने अभिप्रायले आयोजित सो सम्मेलनमा दुवै मुलुकका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सम्मेलनमा नेपालको तर्फबाट मुख्य वक्ताका रुपमा संघ वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह सहित नेपाल इन्सटिच्युट अफ इन्टरनेश्नल एण्ड स्ट्रेटेजिक स्टडिजका संस्थापक निर्देशक भाष्कर कोईराला र नेपाल भारत सामाजिक अभियन्ता प्रवीन नारायण चौधरीको सहभागिता रहेको थियो ।
सम्मेलनमा वरिष्ठ उपाध्यक्ष साहले सबै क्षेत्रमा नेपाल भारत बीचको सुमधुर, धनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै जानु पर्ने बताउँदै साथै सोका लागि आवश्यक रुप रेखाहरु सुझावको रुपमा प्रस्तुत गरेका थिए।
त्यसका साथै सम्मेलनमा आगामी दिनमा नेपालसँगको सामाजिकसहित औद्योगिक, पर्यटन, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रको प्रवद्र्धन एवं विकासार्थ भारतले खेल्नुपर्ने भूमिकाहरुको बारेमा मार्ग चित्रण गरिनुका साथै नेपाल भारत द्विपक्षीय व्यापार नीतिहरुको पुनरावलोकन, व्यापार घाटा न्यूनीकरण, लगानी प्रवद्र्धन, द्विपक्षीय र उप–क्षेत्रीय आर्थिक समन्वय विस्तार, सीमावर्ती क्षेत्रहरुको विकास तथा सम्पर्क सुधारलगायतका विषयहरुमा कार्यपत्रसहितको सुझावहरु प्रस्तुत गरिएको थियो ।
सोही अवसरमा मोरङ उद्योग व्यापार संघ र द सब हिमालयन रिसर्च इन्सटिच्युट, भारत बीच दुवै देशको शैक्षिक र अन्तर विषय अनुसन्धान, सम्पदा दस्तावेजीकरण तथा संरक्षण, सामाजिक विकास र सामुदायिक संलग्नता, सांस्कृतिक र वातावरणीय जागरुकता विद्यार्थी र संकाय आदान–प्रदान, संयुक्त कार्यक्रमहरुको आयोजना आदि विभिन्न क्रियाकलापहरु संयुक्तरुपमा आयोजना गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।