सीप छैन भने डिग्री गरे पनि केही हुन्न ः मेयर कोइराला
- 2 years ago
विराटनगर,२७ भदौ २०८० । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालयस्तरदेखि नै व्यावहारिक र सीपमूलक शिक्षा नदिएकै कारण बेरोजगारी समस्या बढ्दै गएको बताएका छन् ।
प्याब्सन मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सैद्धान्तिक र व्यावहारिक शिक्षालाई सँगसँगै अगाडि बढाएमात्रै उत्पादित जनशक्तिले रोजगारी प्राप्त गर्ने दाबी गरे ।
उनले चारवटा विषयमा डिग्री हासिल गरे पनि सीप छैन भने रोजगारी पाउने अवस्था नरहेको प्रस्ट पारे । ‘अंग्रेजी, नेपाली, वाणिज्य, राजनैतिक सबै विषयमा डिग्रीको सटिर्फिकेट छ तर उसमा सीप छैन भने सटिर्फिकेटका आधारमा जागिर पाउने अवस्था छैन अहिले,’ उनले थपे, ‘डिग्री आफ्नै ठाउँमा छ तर त्यो भन्दा महत्वपूर्ण व्यवहारिक र सीपमूलक शिक्षा आजको आवश्यकता हो ।
नेपालमा मात्रै होइन विदेश जाँदा पनि राम्रो सीप सिकेर गएको छ भने राम्रै पैसा कमाउने अवस्था छ नत्र भने सामान्य काम मात्रै पाइन्छ र त्यसबापत प्राप्त हुने पैसा पनि कमै हुन्छ ।’
घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्नेको आग्रह थियो । विद्यालय तहदेखि नै व्यावहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति देश–विदेशको श्रमबजारमा बिक्न सक्ने मेयरको भनाइ थियो । हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेको बताउँदै त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारी पाउने गरेको उहाँले सुनाए ।
त्यस्तै अध्ययनका लागि विदेश जानु नपर्ने गरी विराटनगरमा गुणस्तरीय शैक्षिक संस्थाहरु खुलेको बताउँदै मेयर कोइरालाले भने, ‘तर अझै पनि विदेश जाने प्रवृत्ति रोकिएको छैन । झनै बढेर गएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा अध्ययनकै लागि नेपालीले १ खर्ब ४२ अर्ब रुपैयाँ विदेश पठाएका छन् । जसले गर्दा नेपाली मुद्रा विदेशिएको छ ।’
निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले विद्यार्थीको प्रतिस्पर्धी क्षमता बढाउन विभिन्न अतिरिक्त क्रियाकलाप गर्ने गरेको भन्दै उनले प्रशंसासमेत गरे । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने महानगरको जारी अभियानलाई साथ दिन उनले सबैलाई आग्रह गरे ।
कार्यक्रयमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, कोशी प्रदेश अध्यक्ष टीकाराम ढकाल, मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, सचिव जगत बस्नेत, अभिभावक संघ कोशी प्रदेश अध्यक्ष देवी पन्थीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । प्रतियोगितामा मोरङका ४० वटा विद्यालयको सहभागिता रहेको कार्यक्रममा संयोजक भक्तराज सुब्बाले जानकारी दिए ।