‘महानगरमा सुशासन महसुस हुनेगरी कार्य भएको छ’
- 2 years ago
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
सार्वजनिक सुनुवाईमा बोल्ने वक्ताहरूले महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र सुशासनमा महसुस गर्ने गरी कार्य गरिरहेको उनीहरूको भनाइ थियो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय राजेन्द्र पराजुलीसहित १ नम्बर वडा अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिश्चन्द सहनी, ७ का मधुबाबु तिवारी, ९ का विश्वनाथप्रसाद भगत, १० का अर्जुन गिरी र १९ का श्याम घिमिरेसमेतको उपस्थिति थियो ।
सो कार्यक्रममा उपभोक्ताकर्मी तथा नागरिक अगुवा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यमा महानगरवासीले महसुस गर्ने गरी कार्य भइरहेको बताउनुभयो । उहाँले उपभोक्तामैत्री नीति तथा कार्यक्रम बनाउन सुझाव दिए । भण्डारीले बजार अनुगमनलाई तीव्रता दिई उपभोक्ता ठगिनबाट जोगाउनुपर्नेमा जोड दिए । 
त्यस्तै पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले महानगरले उल्लेखनीय मात्रामा बेरुजु घटाउनु महानगर नेतृत्व सुशासनमा सफल भइरहेको संकेत मिलेको तर्क गरे । उनले भौतिक विकास भए पनि हरियाली बनाउने सन्दर्भमा प्रगति भइनरहेको बताए । ढुंगेलले वृक्षारोपणलाई व्यापक बनाउनुपर्ने, महानगर मातहतका सबै स्वास्थ्य केन्द्रहरूमा औषधि उपलब्ध गराउनुपर्ने, कम विद्यार्थी संख्या भएका विद्यालयलाई मर्च गर्न सुझाव दिए । महानगरको ‘उज्यालो विराटनगर’ अत्यन्तै प्रभावकारी भएको उनले चर्चा गरे । ‘पछिल्ला केही वर्षयता विराटनगरमा धेरै राम्रा कार्यहरू भइरहेका छन् । राम्रोलाई राम्रो भन्न सक्नुपर्छ,’ ढुंगेलले भने, ‘सुशासनको महसुस भएको छ । मुख्य सडकमा राति हिंड्दा मोटरसाइकलमा लाइट नबाली पनि हिंड्न सकिन्छ । विकास भनेको एकैचोटि हुने होइन ।
अभियन्ता उद्धव केसीले फुटपाथ नियन्त्रण गर्नुपर्ने, सडकमा निर्माण सामग्री राख्न रोक लगाउनुपर्ने सुझाव दिए । त्यस्तै नेपाली कांग्रेस वडा नम्बर ६ का सभापति राम ढकालले सडकको पार्किङ निषेधको निर्णयबाट महानगर किन पछि हट्नु प¥यो भनेर प्रश्न गरे । उनले केशलिया खोलाको छेउछाउमा माटो कटान भइरहेको, डुबान नियन्त्रण, केशलिया खोलामा फोहोर थुपार्न रोक लगाउन आग्रह गरे । केशलिया खोला छेउमा विराटनगरको फोहोर थुपार्दा स्थानीयलाई समस्या भएको उनको भनाइ थियो ।
उद्धव कोइरालाले महानगरपालिका सामान्य कुरामा अल्छिनु नहुने बताउनुभयो । उहाँले कोशी अस्पताल र उद्योगहरूको अनुगमन गरी बिरामी र मजदुरको अवस्था बुझ्न सुझाव दिए । समाजसेवी सुगल भट्टराईले परोपकार घाटमा सोलार लाइट जडान गर्न र गुद्रीमा विषादी परीक्षण मेसिन राख्न सुझाव दिए ।
भरतप्रसाद खरेलले विराटनगर–४ को खार्जी पश्चिम श्रीलंकाको टापुजस्तै भएको गुनासो गरे । उनले सो क्षेत्रमा हुने डुवान नियन्त्रणका लागि पहल गर्न आग्रह गरेभयो । नेकपा एमालेका युवा नेता नवराज काफ्लेले मासु व्यवसायीले खसी र कुखुरा काटेर त्यसको फोहोर नालीमा फ्याल्ने गरेको बताए ।
उनले सडकमा जेब्राक्रस बनाउनुपर्ने, शैक्षिण गुणस्तरमा ध्यान दिनुपर्ने, भौतिक पूर्वाधारको निर्माण गर्दा गुणस्तरमा ख्याल गर्नुपर्ने सुझाव दिए । सडक बत्तीहरू कम गुणस्तरको हुँदा चाँडै बिग्रिने गरेको गुनासो गरे । युवा अभियन्ता प्रितम साहले युवा लक्षित कार्यक्रम र बजेट ल्याउन सुझाव दिए । अञ्जु रिजालले बालबालिका केन्द्रित कार्यक्रमहरू ल्याउनु जरुरी रहेको विचार राखे ।
राधेश्याम घिमिरेले जामुनगाछी–केशलिया सडक छिटो निर्माण गर्न सहजीकरण गर्नुपर्ने, नहरको सरसफाईलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिए । राजुचन्द्र दाहालले कार्यालयको काम सुरु हुनुभन्दा अघि र विद्यालयमा पढाइ सुरु हुनुअघि कम्तीमा १० मिनेट ध्यान सञ्चालन गर्न सुझाव दिए ।
कार्यक्रममा मेयर नागेश कोइरालाले सीमित स्रोत र साधनको बाबजुद विराटनगरवासीको विकास र समृद्धिको चाहना परिपूर्ति गर्न लागि परेको बताए । उनले भौतिक विकासका साथसाथै शिक्षा र स्वास्थ्यलाई पनि उच्च प्राथमिकता राखेर काम गरिरहेको सुनाए । हाल १९ वटै वडामा १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेको मेयर कोइरालाको भनाइ थियो । उनले दुई वर्षको अवधिमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ ग्राभेल, १ सय ५२ वटा कल्भर्ट निर्माण गरेको जानकारी दिए ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले विराटनगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको बताइन् । उनले नियमित विद्यालय, सहकारी र विकास निर्माणको अनुगमन गरिरहेको, न्यायिक समितिमार्फत जनतालाई छिटोछरितो न्याय सम्पादन गरिरहेको सुनाइन् । उपमेयर कार्कीले महानगरले भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिइन् । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सीमित बजेट हुँदा पनि महानगरले धेरै कार्य गरेको दाबी गरे । उनले सबै वडामा अधिकृतस्तरका सचिव खटाएर धेरै काम वडा तहबाटै सम्पादन गरिरहेको जानकारी दिए ।