महानगरद्वारा छात्रवृत्ति प्रवेश परीक्षा
- 2 years ago
विराटनगर,१६ भदौ २०८०। विराटनगर महानगरपालिकाले १० प्रतिशत छात्रवृत्तिका लागि लिएको प्रवेश परीक्षा लिएको छ । सो परीक्षाको महानगरका मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् ।
महानगरले शनिबार कक्षा ११ का लागि छात्रवृत्तिको प्रवेश परीक्षा लिएको छ । मेयर कोइरालाले विराटनगरस्थित आदर्श मावि र पोखरिया मावि केन्द्रमा सञ्चालित प्रवेश परीक्षाको अनुगमन गरेका हुन् । नेपाल सरकारको नियमअनुसार सबै निजी शैक्षिक संस्थाले अनिवार्य रुपमा १० प्रतिशत छात्रवृत्ति कोटा छुट्याउनुपर्नेछ ।
त्यही अनुसार महानगरले आफैंले प्रवेश परीक्षा लिएको मेयर कोइरालाले बताए । महानगरले लिएको छात्रवृत्तिमा १ हजार १ सय ५० जना परीक्षार्थी सहभागी थिए । जसमध्ये ६ सय ९८ जनाले छात्रवृत्ति पाउनेछन् ।
छात्रवृत्तिका लागि लिइएको प्रवेश परीक्षामा महानगर क्षेत्रभित्र ११ र १२ कक्षा सञ्चालन गर्ने १४ वटा विद्यालयले सहभागिता जनाएका छन् । अनुगमनमा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा सदस्य अञ्जु दाहालसहित सचिवालयको टिमलगायतको सहभागिता रहेको थियो ।