महानगरका मेयरको अनुगमन तीव्र

  • 2 years ago
महानगरका मेयरको अनुगमन तीव्र


विराटनगर, २१ असार २०८०। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बिहान ६ बजे नै घरबाट निस्किने गरेका छन् । उनी बिहान घुमफिर होइन महानगरमा कुन–कुन ठाउँमा फोहोर थुप्रिएको छ, कताकता पानी जमेको छ, जनताका समस्या के छ भनेर बुझ्न निस्किे गरेका हुन् । 

मेयर कोइरालाले प्रभातकालीन अनुगमन नाम दिएर हरेक बिहान ६ बजे निस्किने र साढे ९ बजे घर फर्किने गर्दछन् । प्रभातकालीन अनुगमनअन्तर्गत मेयर कोइरालाले बुधबार बिहान विराटनगरका विभिन्न वडाको अनुगमन गरे । सरसफाइ शाखा, नगर प्रहरी र सचिवालयको टिमसहित निस्किएका मेयर कोइरालाले प्वाल टालिएर पिच सडकमा जमेको पानी खोल्न लगाएका थिए । 

मेयर कोइरालाले वडा २, ३, ७ र १२ वडाको अनुगमन गरे । पानीको सहज निकासका लागि महानगरले गत माघदेखि नै विराटनगरका नाला सफाइ सुरु गरेको थियो । जसका कारण विगतभन्दा सडकमा पानी जम्ने समस्या कम भएको स्थानीयको भनाइ छ । 

अविरल वर्षाको पनि प्रवाह नगरी मेयर कोइराला आफैं अनुगमनमा निस्किएको प्रति स्थानीयले खुसी व्यक्त गरेका छन् । महानगर बनाउने हुटहुटी र विराटनगरवासीलाई दुःख नहोस् भनेर मेयर कोइराला धेरै नै चिन्तित भएको पाइएको विराटनगर–३ का स्थानीय प्रकाश अधिकारीले बताए । 

मेयरको सक्रियता र काम गर्ने शैलीबाट आफू सन्तुष्ट रहेको मडिन्द्र बस्नेतको भनाइ छ । ‘चुनावमा भोट दिँदै गर्दा नागेश कोइरालाले विराटनगरवासीको समस्या समाधान गर्न यसरी खट्नुहुन्छ र यति राम्रो काम गर्नुहुन्छ भन्ने लागेकै थिएन,’ उनले भने, ‘पार्किङ र सरसफाईमा त देशभरै स्थानीय तहमध्ये उत्कृष्ट काम गर्नुभएको छ ।’ मेयर, उपमेयर र वडाध्यक्षहरुको विराटनगर बनाउने सन्दर्भमा अत्यन्र्त राम्रो सहकार्य भइरहेको महसुस भएको उनले बताए । 

मेयर कोइरालाले आन्तरिक सुशासनलाई पनि उच्च प्राथमिकता दिँदै आएका छन् । मेयरले महानगरका महाशाखा र शाखाहरुको आकस्मिक अनुगमनसमेत गर्ने गरेका छन् । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा महानगर लागेको छ । 

त्यस्तै सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा समेत महानगरले रोक लगाएको छ । साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको दर्ता र नवीकरण नगर्ने निर्णयसमेत गरिसकेको छ ।