कोशी प्रदेशसभाको बैठक महिनापछि भदौमा बस्दै

  • 2 years ago
कोशी प्रदेशसभाको बैठक महिनादिपछि भदौमा बस्दै

 विराटनगर, ३० साउन २०८०। असार १५ गतेदेखि स्थगित कोशी प्रदेशसभाको बैठक महिना दिनभन्दा बढी समयपछि बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार, प्रदेशसभा बैठक भदौ १ गते बस्ने भएको हो । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले भदौ १ गते शुक्रबार दिनको १ बजेका लागि बैठक बस्ने बताए ।

प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि आगामी बैठकको अध्यक्षता उपसभामुख सृजना दनुवारले गर्दैछिन् । बैठकको कार्यसूची भने कार्यव्यवस्था तथा परामर्श समितिको बैठकबाट टुंगो लगाइने जनाइएको छ ।

प्रदेशसभामा तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट कार्यान्वयन गर्न जेठ ३२ गते ल्याएको बजेट अध्यादेश अस्वीकृत गर्न माग गर्दै दुईवटा सूचना दर्ता भएका छन् ।

भदौ १० गतेभित्र प्रतिस्थापन विधेयक नल्याए अध्यादेश निस्कृय हुने र प्रदेशबाट साउन १ यता गरिएका सम्पूर्ण खर्चमाथि कानुनी प्रश्न सिर्जना भई खर्च प्रणाली नै अवरुद्ध हुने भएकोले प्रतिस्थापन विधेयकका विषयमा दलहरूबीच छलफल भइरहेको जनाइएको छ ।

मुख्यमन्त्री उद्धव थापाको उपस्थितिमा भएका बैठकहरूमा सबै दलहरूबीच सहमति गरेर प्रतिस्थापन विधेयक ल्याउने र प्रदेशसभा बैठक बस्नुअगाडि नै अध्यादेश अस्वीकृत गर्न माग गरिएको सूचना फिर्ता लिने विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ ।

बजेट अध्यादेश पेश गर्ने तत्कालीन मुख्यमन्त्री कार्की नेतृत्वको नेकपा एमाले अहिले प्रदेशसभामा प्रमुख प्रतिपक्षमा पुगेको छ । एमालेले आफूले ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित गर्नुपर्ने जनाएको छ ।