गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक -मेयर कोइराला
- 1 year ago
विराटनगर ।विराटनगर महानगरका नगर प्रमुख नागेश कोइरालाले गोरखापत्र भनेको नेपाली पत्रकारिताको अभिभावक भएको बताएका छन् ।
उनले गोरखापत्र दैनिक १२५ वर्षमा प्रवेश एवम् गोरखापत्र संस्थानको ६३ ओैं वार्षिकोत्सबको अवसरमा प्रदेश प्रकाशन कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन्।
अरु अखवारले आफ्नो ब्यावसायिक लक्ष्य र उद्देश्य प्राप्तिका लागि समाचार लेख्ने गरेको बताउँदै कोइरालाले गोरखापत्र दैनिकले नागरिक र समाज विकासको बारेमा लेख्ने गरेको बताए । नगरप्रमुख कोइरालाले गोरखापत्रले मात्र तीनै तहका सरकारको आवाज, विकास र गतिविधि लेख्ने गरेको चर्चा गर्दै लेखिएको सामग्रीलाई प्रभावकारी वितरणमा जोडदिन आग्रह गरे ।
गोरखापत्र नेपालीहरूको सम्पति भएको बताउँदै यो सम्पत्तिको संरक्षणको जिम्मेवारी महानगरको पनि भएको उल्लेख गरे। उनले घिनाघाट झोराहाट सडकबाट संस्थानको कार्यलयसम्म पुग्ने सडक स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्ने बचन दिए ।
मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोरखापत्रले आफ्नो प्रकाशनलाई डिजिटलाइट गरेर अझ प्रभावकारी बनाउन आग्रह गरे । सरकारी अखवारका आफ्नै समस्या होलान । तर ,पाठकले त्यो बुझ्दैनन्। प्रजिअ यादवले बहुभाषिक पत्रिका र प्रादेशिक रुपमा प्रकाशन गर्नु सरकारी पत्रिकाको दायित्व भएको बताए । निजी क्षेत्रले यो काम गर्दैन किनकी उनीहरूको प्रमुख उद्देश्य ब्यापार हो ।
कार्यक्रम माथि प्रकाश पार्दै निमित्त कार्यालय प्रमुख राजकुमार गुरुङले विराटनगर कार्यालयले मधेस र कोशी प्रदेशका जिल्लाहरूमा गोरखापत्र वितरण गरिरहेको बताए । सरकारको लगानीमा रहेको पत्रिकालाई नागरिकको पत्रिका बनाउने उद्देश्यअनुसार काम गरिरहेको बताउँदै गोरखापत्रको कसैसँग प्रतिस्पर्धा नरहेको स्पष्ट पारे ।