एमाले मोरङको अधिवेशन पुस २७ र २८ मा
- 2 years ago
विराटनगर,२३ भदौ २०८० । नेकपा (एमाले) मोरङको १० औँ अधिवेशन आगामी पुुस २७ र २८ गते हुने भएको छ । शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले अधिवेशन गर्ने निर्णय सो मिति गरेको हो ।
यसअघि ९ औँ जिल्ला अधिवेशन २०७८ साल पुस २३ र २४ गते विराटनगरमा सम्पन्न भएको थियो । पार्टी केन्द्रको निर्णय बमोजिम मोरङ जिल्ला कमिटीको १० औँ अधिवेशन हुन लागेको हो ।
अधिवेशनका सन्दर्भमा थप निर्णयहरु पछि हुने नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । उनले जिल्ला अधिवेशनपछि १७ वटै पालिका कमिटीको अधिवेशन हुने बताए ।
बैठकले विराटनगरमा हुन लागेको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन भव्यरुपमा सम्पन्न गर्न सम्पूर्ण पार्टी पंक्ति परिचालन गर्ने निर्णयसमेत गरेको छ ।
अन्तरकमिटी निर्देशन बमोजिम आगामी असोज १२ र १३ गते हुने नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि प्रतिनिधि छनौट गर्न जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्कीको संयोजकत्वमा प्रदेश प्रतिनिधि संयोजन र व्यवस्थापन समिति गठन भएको छ ।
सो समितिले जिल्लाभरीबाट प्रतिनिधि छनौटका लागि समन्वय र सहजीकरण गर्ने अध्यक्ष पोखरेलले बताए । उनका अनुसार कोशी प्रदेश कमिटीको अधिवेशनका लागि मोरङबाट १ सय ७८ जना प्रतिनिधि छनौट हुनेछन् । जसमा १०० पार्टी सदस्य बराबर एक जना प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधि छनौट गर्दा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागीता हुनुपर्ने छ ।
युवाहरुको सहभागीलाई पनि जोड दिइएको छ । मजदुर निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन हुनेछन् । दलित समुदायको प्रतिनिधित्वका लागि प्रतिनिधि छनौट गर्न मुक्ति समाज जिल्ला कमिटी पदाधिकारीलाई सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरिएको बताइएको छ । बैठकले बैचारिक, सांगठनिक तथा राजनीतिक कार्ययोजनासमेत निर्माण गरेर एमाले मोरङ अधिवेशनमा होमिएको अध्यक्ष पोखरेलले बताए ।
नेकपा (एमाले) मोरङका इन्चार्ज तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य विनोद ढकाल, युवराज बास्कोटा, रामलाल साह, जीवन घिमिरे, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।