बजार क्षेत्रमा मालबाहक सवारी प्रवेशमा रोक

  • 2 years ago
बजार क्षेत्रमा मालबाहक सवारी प्रवेशमा रोक

विराटनगर, १ भदौ २०८०। विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका मुख्य राजमार्गबाहेकका सहायक तथा भित्री सडकखण्डमा १० चक्के वा सोभन्दा बढीका मालबाहक सवारी साधनहरु प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । 

महानगरको समन्वयमा सरोकारवालासहितको बसेको बैठकले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बढी क्षमता भएका मालबाहक सवारी सहायक र भित्री सडकमा प्रवेश गर्न रोक लगाउने निर्णय गरेको हो । 

सडकको क्षमताभन्दा बढी भार भएका मालबाहक सवारी प्रवेश गर्दा निर्माण भएको छोटै समयमा भत्किने समस्या बढ्न थालेपछि महानगरले यस्तो निर्णय गर्नुपरेको मेयर नागेश कोइरालाले बताए । 

मेयर नागेश कोइरालाको अध्यक्षता तथा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर ११ का अध्यक्षसमेत तथा ट्राफिक व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र नेउपाने, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठ, निर्णयमा सहभागी थिए । 

महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, योजना महाशाखा प्रमुख अर्जुन थापा, महानगर प्रहरी प्रमुख राजन पौडेल, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, ट्रक व्यवसायी संघ, ढुवानी व्यवसायी संघ, ट्रिपर व्यवसायी संघ, सवाडी व्यवसायी संघ संघका प्रमुख तथा प्रतिनिधिको उपस्थिति भएको बैठकले ट्रक, ट्रिपरलगायतका मालबाहक ढुवानीका साधनलाई मुख्य राजमार्गसहित सहायक राजमार्ग र भित्री सडकमा लोड अनलोड गर्न नदिने निर्णय गरेको हो । 

अबदेखि ढुवानीका साधनले सम्बन्धित ठाउँ र पार्किङस्थलमा मात्रै लोड अनलोड गर्नुपर्नेछ । बैठकले मुख्य बजार क्षेत्रभित्र निर्माण सामग्री तथा ढुवानीका सामग्री बोकेका ६ चक्केसम्मका मालबाहक सवारी साधनलाई रात्रिकालीन समयमा मात्रै प्रवेश गर्न दिने निर्णय गरेको छ । जथाभावी लोड अनलोड गर्दा, ढुवानी तथा निर्माण सामग्री बोकेका सवारी प्रवेश गर्दा ट्राफिक व्यवस्थापनसँगै सडक सुरक्षामा समेत समस्या देखिएकाले प्रवेशमा रोक लगाउनु परेको मेयर कोइरालाको भनाइ छ । ‘विराटनगरलाई महानगरजस्तो बनाउन सबैको साथ र सहयोग आवश्यक छ,’ उनले भने, ‘सधैं गरिरहेको काममा रोक लगाउँदा केही दिन असहज हुनसक्छ । तर यसलाई सबैले कार्यान्वयन गर्नु जरुरी छ । 

विराटनगर महानगरपालिका मात्रै नभएर प्रदेशको राजधानी पनि हो यसलाई व्यवस्थित बनाउने दायित्व हामी सबैको हो ।’ यो निर्णयले सडक सुरक्षासँगै ट्राफिकमा समेत सहयोग पुग्ने मेयर कोइरालाले विश्वास व्यक्त गरे ।